१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

५० प्रतिशत सकियो कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेन विस्तार



साबिक चार लेनको कोटेश्वर–जडीबुटी सडकखण्डलाई थप दुई लेन विस्तार गर्ने कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चालू आर्थिक वर्ष ०७७÷७८ भित्र नै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

उनका अनुसार आयोजनाको काम सुचारु रहे पनि विद्युत्का पोल र कोटेश्वरतर्फबाट बायाँ साइडमा पर्ने जडीबुटी मोडमा रहेको एउटा निजी घर प्राप्त गर्न भने अझै बाँकी छ । ‘त्यसमा छलफल भइरहेको छ, तर अझै टुंगो लागेको छैन,’ उनले भने । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ ।

यसअघि डिभिजन कार्यालयले असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का निर्माण कम्पनीहरू टुंडी सुसन उपक्रम (ज्वाइन्ट भेन्चर) ले पाएका छन् । जेभीले ७ करोड रुपैयाँमा सडक विस्तारको ठेक्का पाएको हो ।

सडक विस्तारका लागि सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । देशको पूर्वक्षेत्रबाट राजधानी भित्रिने प्रमुख नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले जामको समस्यामा समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै आइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !