८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

७२ हजार किलो अखाद्य चिनी नष्ट गर्ने तयारी



वीरगञ्ज । खान अयोग्य प्रमाणित भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा चिनी खान आयोग्य प्रमाणित भएपछि नष्ट गर्न लागिएको हो । लिलाम परियोजनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाले खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराएको थियो । जनकपुरबाट चिनी खानका लागि अयोग्य रहेको रिपोर्ट आएकाले नष्ट गर्ने प्रक्रिया शुरु गरिएको कार्यालयले जनाएको छ । चिनी लिलाम बिक्री प्रक्रियाका लागि राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको थियो ।

राजश्व अनुसन्धान कार्यालय संयोजक रहने समितिमा जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि सदस्य रहने गरेको भएपनि अन्य सरोकारवालालाई समेत बैठकमा आमन्त्रण गर्ने गरिएको कार्यालयले जनाएको छ । अनुसन्धान प्रक्रियामा रहेका कारण ७२ हजार किलो चिनी एक वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको छ । १ हजार ४४० बोरा चिनीमध्ये अधिकांशमा बोरामा उत्पादन मिति उल्लेख छैन । केही बोरामा पटक–पटक केरमेट गरिएको छ ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भएकोले आयातमा रोक लगाएको भारतीय चिनी मिलेमतोमा २०७६ फागुन २५ गते जलेश्वर भन्सारबाट नेपाल भित्रिएको थियो । अनुष्का मल्टिपर्पोजले भारतबाट आयात गरेको चिनी छोटो दूरीको वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गरेर नेपाल ल्याउन सफल भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !