१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

गुडविल सहकारीका अध्यक्षले झन्डै ८० करोड रुपैयाँ ठगेको उजुरी



ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले झन्डै ८० करोड रुपैयाँ ठगेको उजुरी परेको छ।

उनलाई प्रहरीले महानगरीय प्रहरी परिसर ललितपुरले चितवन भरतपुर महानगरपालिका-१० बाट शनिबार पक्राउ गरेको थियो। उनले संस्थाका पदाधिकारी तथा सर्वसाधरणलाई संस्थामा रकम जम्मा गराई बढी ब्याज दिने आश्वासन दिएका थिए।

आश्वासन दिएर उनले झन्डै ८० करोड रकम ठगी गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

अहिलेसम्म उनीविरूद्ध ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको ललितपुर परिसरमा जाहेरी परेको छ। तर उनले योभन्दा पनि बढी ठगी गरिसकेको हुन पर्ने ललितपुर परिसरले आशंका गरेको छ।

उनी १०-१५ दिनअघि आफू फस्ने देखेपछि फरार भएका थिए। उनी विभिन्न ठाउँमा लुकेर बसेका थिए। ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने उनी दैनिकजसो ठाउँहरू फेर्दै बसेका थिए।

‘फस्ने देखेपछि भागेका हुन्। उनले यस्तै थुप्रै मान्छेहरूलाई ठगेको आशंका गरिएको छ,’ एसपी महर्जनले भने।

उनीविरूद्ध संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत ५ गते जाहेरी दिएका थिए। उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर  प्रहरीले जनाएको छ।

प्रहरीले उक्त सहकारीबाट पीडित भएका भए जाहेरी दिन आउनसमेत आग्रह गरेको छ। सो जाहेरीहरू आउने क्रममै रहेको परिसरले जनाएको छ। ठगिएको भए महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !