१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विश्वकै प्रदूषित शहरको सूचिको पहिलो स्थानमा काठमाडौं



काठमाडौं : उपत्यका विश्वकै सर्वाधिक प्रदूषित शहरको सूचिको पहिलो स्थानमै यथावत रहेको छ । आज बिहान नौ बजेको समयमा काठमाडौं शहरको एयर क्वालिटी इन्डेक्स ३३१ रहेको छ । यसअघि पनि तीन पटक काठमाडौं सर्वाधिक प्रदूषित शहरको सूचिमा रहेको थियो । वातावरण विभागको तथ्याङ्कअनुसार आइतवारदेखि देशका प्रमुख शहरमा वायु प्रदुषणको मात्रा बढेको छ । आज बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।

करिब २ सातादेखि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ । हिजो मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो । हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरुको भनाई छ । यसले दीर्घकालीन रोगहरु निम्त्याउन सक्ने जोखिम उच्च भएकाले अत्यावश्यक बाहेक घरबाहिर नसिस्कन चिकित्सकहरुको आग्रह छ । निस्कने परे पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यसैबीच वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण काठमाडौंसहित देशका धेरै स्थानमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।

तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको मौसम विद्हरुको भनाई छ । चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो । प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने उनीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !