७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस



काठमाडौं । आज ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरण दिन अर्थात् चैत २४ गते जनआन्दोलन दिवस । वि. स. २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचि प्रधानमन्त्री बीपी कोईरालालाई पक्राउ गरी निर्दलीय व्यवस्थाको लागु गरेका थिए । त्यसपछि दुई दशकको संघर्षपछि प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । मरिचमान सिंह नेतृत्वको मन्त्रिमण्डलले २०४६ सालको जनआन्दोलनमा दमन गरेको थियो । तर आन्दोलन झन् चर्किंदै गएपछि तत्कालीन राजा वीरेन्द्रले सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । यद्यपि चन्द नेतृत्व मन्त्रिमण्डल दुई दिनमात्रै टिक्यो ।

चन्द नेतृत्वको मन्त्रिमण्डल गठन गरिएपछि आन्दोलनले झन् ठूलो रूप लियो । नारायणहिटी दरबार अगाडि राखिएको राजा महेन्द्रको शालिक आन्दोलनकारीले तोडफोड गरे । २५ र २६ गते पनि देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रमाथि राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब बढ्यो । त्यसपछि उनले आन्दोलनकारीलाई वार्तामा बोलाए । आन्दोलनकारीका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यही वार्ताबाट संविधानबाट दलविहीनको व्यवस्था हटाइएको थियो । त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ । त्यस्तै प्रमुख राजनीतिक दलहरुले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ मा नै गरेका थिए । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !