१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर !



केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भयो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम माग गरिएको थियो ।

आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । दिपाश्री निरौलाले त प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् ।

कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गर्यो । साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् । उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।

ह्याकर ९ कक्षामा पढ्ने १४ वर्षीय किशोर

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

के हो फिसिङ लिंक ?

इन्टरनेटमा फिसिङ लिंकको प्रयोग गरेर साइबर अट्याक गर्ने गरिएको छ । जसका लागि उस्तै अर्को पेज बनाउने, त्यही पेजको लिंक सामाजिक सञ्जाल वा इमेलमा पठाउने र युजरलाई लग इन गर्न लगाउने । अनि जब युजरले आफ्नो युजरनेम र पासवर्ड त्यहाँ हाल्छन्, त्यसलगत्तै उक्त तथ्यांक ह्याकरको पहुँचमा पुग्छ र ह्याकरले त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर सामाजिक सञ्जाल वा कुनै कम्पनीको एडमिनमा प्रवेश गर्छ । त्यसपछि डाटा चोरी, डाटा डिलिट लगायतका काम ह्याकरले गर्ने गरेका छन् । कलाकारको फेसबुक ह्याक प्रकरणमा पनि फिसिङ लिंक प्रयोग गरिएको र कलाकारकै असावधानीका कारण फेसबुक ह्याक भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !