११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले



काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो । एमाले प्रदेशसभाको ठूलो दल हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला नेतृत्वमा सरकारमा सहभागी मन्त्रीले मुख्यमन्त्री शाहीलाई संयुक्त राजीनामा बुझाएका हुन् ।

सरकारमा मन्त्री ज्वालाका साथै सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सहभागी थिए । सात सदस्यीय कर्णाली प्रदेश सरकारमा अब मुख्यमन्त्रीसहित माओवादी केन्द्रका तीन मन्त्री रहेका छन् । भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले राजीनामा दिएपछि झण्डै एक वर्षदेखि सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै संहाल्दै आएका छन् । २०७४ फागुन ३ गते तत्कालीन एमालेले माओवादी केन्द्रलाई प्रदेश सरकार गठनका लागि समर्थन गरेको थियो ।

यसअघि चैत ४ गते बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले आगामी वैशाख ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रदेश प्रमुखको कार्यालयले तोकिएको अवधिमै विश्वासको मत लिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ । प्रदेशसभामा एमालेका सभामुखबाहेक १९, माओवादी केन्द्रका १२ एकजना निलम्बित, नेपाली कांग्रेसका छ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !