१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीद्वारा ‘लकडाउन’को संकेत, डब्ल्यूएचओको गाइडलाइन पालना नगरे ठप्प हुनसक्छ



प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को गाइडलाइन अनुशरण नगरे देश फेरि ठप्प हुन सक्ने संकेत गरेको छन् ।

छिमेकी मुलुक भारतमा महामारीकै रुपमा दोस्रो चरणमा कोरोना फैलिएपछि त्यसको त्रास नेपालमा पनि बढेको र मास्क, स्यानिटाइजर तथा सामाजिक दूरी कायम नगरे देश फेरि लकडाउन हुन सक्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले भीड भाड नरोक्ने, सामाजिक दूरी कायम नगरे, स्यानिटाइजर प्रयोग नगरे सरकारले बाध्य भएर लकडाउन गर्नुपर्ने बताए ।
‘नागरिकको रक्षा सरकारको पहिलो प्राथमिकता हो,’ ओलीले कार्यक्रममा भने, ‘यदि उनीहरू आफैं सचेत भएनन्, भने सरकारले बाध्य भएर देश ठप्प पार्नुपर्ने अवस्था आउँछ ।’

लकडाउन गर्दा आर्थिक रुपमा देशलाई ठूलो नोक्सान हुन्छ । अर्थतन्त्र तहस नहस हुन्छ । यो सबै कुरा थाहा हुँदाहुँदै पनि नागरिकको रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको ओलीको भनाइ छ ।

भारतमा अहिले दैनिक रुपमा सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन् । त्यसको असर नेपालमा पर्ने देखिएपछि ओलीले लकडाउन गर्न सक्ने बताएका हुन् ।

‘कोरोना नियन्त्रण गर्न सकेन भने त्यसको अप्जस सरकारको टाउकोमा आउँछ । निःशुल्क खोप लगाउने व्यवस्था मिलाएका छौं । निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । निःशुल्क उपचारको व्यवस्था गर्दा पनि सरकारले गाली गर्न छाडेनन्,’ ओलीले भने, ‘भारतमा काम गर्न गएका नेपालीहरू सीमाबाट धमाधम नेपाल फर्किन थालेका छन् ।

त्यसले झन जोखिम फैल्याएको छ । त्यसका अलवा अहिले नागरिकहरूले डब्ल्यूएचओको गाइडलाइन फलो गरेको पाइँदैन ।


प्रतिक्रिया दिनुहोस !