१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

धरापमा ओली, नयाँ सरकार गठन गर्न देउवाले बोलाए तीन पार्टीको बैठक !



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको एक सातापछि देउवाले तीन दलको बैठक आह्वान गरेका हुन् । शुक्रबार (आज) ३ बजे देउवाले बोलाएको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच नयाँ सरकार निर्माण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । कांग्रेस नेताहरुका अनुसार पार्टी सभापति देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि माओवादी केन्द्र र जसपाको आधिकारिक धारणासमेत माग्ने तयारी गरेका छन् । माओवादी केन्द्र देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत भइसकेको छ तर जसपा भने विभाजित छ ।

जसपा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा रहेका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग नजिक देखिएका छन् । ठाकुर र महतोले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाउँदै ओलीसँग संवाद अघि बढाइरहेको अवस्था छ । कांग्रेसले रेशमको रिहा गर्ने बाहेकका मुद्दा सम्बोधन गर्न आफू तयार रहेको जसपालाई प्रष्ट पारिसकेको छ । देउवाले बैठक बोलाएसँगै तीन दलबीच हुने छलफलले नयाँ सरकार बन्ने या नबन्नेबारे टुंगो लाग्ने माओवादी केन्द्रका नेताहरुले बताउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !