७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै



काठमाडौँ उपत्यकासहित वागमती प्रदेश र प्रदेश– १ मा मेघ गर्जनसहित वर्षा भएको छ ।

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीका कारण वागमती प्रदेश र प्रदेश १ मा मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो गण्डकी प्रदेशमा वर्षा भएको छ । उक्त प्रणाली पूर्वतर्फ सरेकाले बेलुकी वागमती र प्रदेश १ मा वर्षा भएको हो । हाल गण्डकी प्रदेशमा भने मौसम सफा रहेको छ ।

वागमती प्रदेश र प्रदेश १ मा अबको एक/डेढ घण्टासम्म वर्षा हुने महाशाखाले जनाएको छ ।

सामान्य वर्षा हुन थालेसँगै पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा लागेको बाक्लो तुवालो हट्दै गएको छ । हावासँगै वर्षा भएकाले भोलि उपत्यकाको मौसम सफा रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

‘वर्षा शुरू भएसँगै देशका विभिन्न भागमा लागेको डढेलोको कारण काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषण कम हुँदै गएको छ ।’ उनले भनिन्, ‘डढेलो बढ्यो र हावाको गति कम भयो भने फेरि वायु प्रदूषण बढ्न सक्छ ।’


प्रतिक्रिया दिनुहोस !