१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सांसद र मन्त्री पद गुमाएका ४ जनालाई पुनः मन्त्रीमा नियुक्ति



काठमाडौं : माओवादीले कारबाही गरेपछि सांसद र मन्त्री पद समेत गुमाएका चार जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेताले पुनः मन्त्रीको सपथ लिएका हुन्। उनीहरुलाई बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त गरिएको थियो । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।

माओवादी केन्द्रको सिफारिसमा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पद गुमेको हो । सांसद पद गुमेसँगै मन्त्रीबाट पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअन्तर्गत मन्त्रीमा पुनर्नियुक्ति दिएका हुन् । रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि मन्त्री बन्ने व्यवस्था छ, त्यही अनुसार उनीहरु मन्त्री बनेका छन् । ६ महिनापछि उनीहरु सांसद हुनुपर्नेछ । त्यसका लागि उपनिर्वाचनमै जाने र चारै जनालाई सांसद बनाउँने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् । यो अवधिमा सांसद हुन नसकेमा प्रतिनिधिसभाको कार्यकालभर मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य नहुने धारा ७८ को उपधारा ३ मा उल्लेख छ । तर, उपनिर्वाचन गराएरै भएपनि एमाले चारै जनालाई मन्त्री कायमै राख्न चाहेको नेता नेम्वाङको भनाईले प्रष्ट पारेको छ ।

 


प्रतिक्रिया दिनुहोस !