१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सिके राउतको पार्टीको महाधिवेशनमा स्वतन्त्र मधेसको झण्डा प्रयोग



काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशनमा स्वतन्त्र मधेसको झण्डा प्रेयोग गरएको छ । महाधिवेशन चल्दै गर्दा बाह्रविघा आसपास क्षेत्रमा सो पार्टीका कार्यकर्ताले झण्डासहित स्वतन्त्र मधेशको नारा लगाएको पाइएको छ । पाँच हजार प्रतिनिधि र २५ हजार स्वयं सेवकको उपस्थितिमा भएको महाधिवेशनमा कतिपय नेता तथा कार्यकर्ता ‘स्वतन्त्र मधेश’ लेखिएको झण्डा र नाराबाजीसहित कार्यक्रममा उपस्थित भएका हुन् ।

स्मरण रहोस्, दुई वर्षअघि स्वतन्त्र मधेशको नारा छाडेर राउत मूलधारको राजनीतिमा आएका थिए । २०७५ फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सम्झौतामा स्वतन्त्र मधेश गठबन्धन तथा उसका नेता–कार्यकर्ताद्वारा तयार पारिएका र पहिला प्रचारमा गएका किताब, पर्चा पम्प्लेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन समाग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने उल्लेख गरिएको थियो ।

तर, सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता भएकै भोलिपल्टै पनि स्वतन्त्र मधेशको नारा लाग्नु साथै झण्डा र ब्यानर प्रदर्शन भएको थियो । त्यतिबेला जनमत पार्टीका अध्यक्ष राउतले भर्खर सम्झौता भएका कारणले कतिपय नेता तथा कार्यकर्तालाई जानकारी नहुँदा भुलवस यस्तो प्रदर्शन हुन पुगेको प्रतिक्रिया दिएका थिए । तर, दुई वर्षपछि पुनः महाधिवेशन स्थलमै स्वतन्त्र मधेशको झण्डा प्रदर्शन हुन पुगेको हो ।

जानकारहरुका अनुसार सिके राउतले मूलधारको राजनीतिमा आएपनि भित्रभित्रै स्वतन्त्र मधेशको अभियानलाई त्यागेका छैनन् । तर सरकारले त्यसलाई नजरअन्दाज गर्दै आइरहेको मधेस मामिलाका एक जानकारले बताए । जनमत पार्टीले जनमत संग्रहको माग गर्दै आएको छ । ११ बुँदे सम्झौतामा पनि जनमत संग्रह लेखाउन चाहेको थियो । तर सरकार पक्षले त्यो शब्द लेख्न नमानेपछि त्यसको ठाउँमा जन अभिमत लेखिएको सो पार्टीका एक वरिष्ठ नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !