८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विश्वकै दुलर्भ एकसिङ्गे गैंडाको संख्या १०७ ले बढ्यो



चितवन । विश्वमै दुलर्भ मानिने एकसिङे गैंडा पछिल्लो ६ वर्षको अवधिमा नेपालमा १०७ ले बढेको पाइएको छ । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा १८ दिन लगाएर गरिएको गणनामा गैंडाको संख्या ७५२ पाइएको हो । १९५० को दशकमा नेपालमा ८०० गैंडा थिए । तर १९६० को दशकमा घटेर करीब एक सय हाराहारीमा आइपुगेको थियो । संरक्षणका लागि गरेको पहलसँग गैंडाको संख्या क्रमशः बढ्यो र २०१५ मा गरिएको गणनामा गैंडाको संख्या ६४५ पाइएको थियो । एक सिङ्गे गैंडाको संख्या सबभन्दा बढी चितवनमा ६९४ पुगेको छ । यसअघि ६०५ रहेको थियो । निकुञ्जका अनुसार सन् २०१५ को गणनायता १६१ वटा गैंडा मरिसकेका छन् । २०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा थियो । अहिले बढेर ३८ पुगेको छ । यस्तै शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको छ । सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा यसपटकको गणनामा पनि सोही संख्या रहेको पाइएको छ ।

निकुञ्जले बयश्क, अर्ध बयश्क र बच्चा गरि तीन भागमा बर्गिकरण गरेको तथ्यांक निकालेको छ । छुट्टएिको भालेको संख्या १४६ र पोथीको संख्या १९८ छ भने लिंग पहिचान नभएको संख्या ४०८ छ । बयश्क गैंडा ५२०, अर्ध वयश्क ९६ र बच्चा १३६ छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४३ वटा हात्तीसहित करिब २५० जनशक्ति परिचालन गरिएको थियो । गैंडा गणनाका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट हात्तीसार कर्मचारी पुलिसराम थारुको मृत्यु भएको थियो । हात्तीबाट लडेर ८ जना घाइते भएका छन् । नवलपरासी, अमलटारीको निकुञ्ज क्षेत्रमा धु्रबे हात्तीसँग भएको जम्काभेटमा गैंढा गणनामा प्रयोग भएको हात्ती डराएर भाग्दा लडेर ८ जना कर्मचारी घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोगमा भएको गैंडा गणनामा १ करोड ४० लाख खर्च भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !