१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतबाट धमाधम स्वदेश फर्किदै नेपाली, कोरोना संक्रमितको संख्या पनि बढ्यो



नेपालगन्ज : भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भारतीय नाका हुँदै स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । यससँगै कोरोना संक्रमित पनि बढेका छन् । शनिबार भारतीय सीमानाका हुँदै नेपाल भित्रिएका थप तीनजना नेपालीमा कोरोना पुष्टि भएको छ । नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कमै एन्टिजेन पद्धतिबाट कोरोना परीक्षण गर्दा तीनजनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालगन्ज नाकामा फेला पर्ने कोरोना संक्रमितको संख्या १० पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज नाकामा ११ चैतदेखि भारतबाट आउने नेपालीको एन्टिजेन पद्धतिमार्फत कोरोना परीक्षण हुँदै आएको छ । हालसम्म ६ हजार दुई सय चारजनाको स्वास्थ्य जाँच गरिएको डिसिसिएमसीका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । उनले शंकास्पद एक सय नौजनाको कोरोना एन्टिजेन जाँच गर्दा गुजरात र महाराष्ट्रबाट आएका १० जनामा संक्रमण पुष्टि भएको बताए ।

शनिबार बारबर्दिया नगरपालिका–७, बर्दियाका २५ वर्षीय पुरुष, नारायण नगरपालिका– ५, दैलेखका २१ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–३, बाँकेका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको ओलीले जानकारी दिए । शनिबार फेला परेका सबैलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । बाँकेका विभिन्न आइसोलेसनमा एक सय चारजना कोरोना संक्रमित रहेको डिसिसिएमसीले जनाएको छ । कोरोना फोकलपर्सन ओलीका अनुसार भेरी अस्पतालको आइसोलेसनमा ३४ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् ।

त्यसैगरी, नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरी ५४, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरी नौ, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एकजना कोरोना संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका सर्वसाधारणलाई १० दिन होम आइसोलेसनमा बस्ने नियम बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !