१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने



काठमाडौं : गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिनुभयो ।

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !