१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

देशभरबाट माओवादीका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने ओलीको दाबी



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बसेको स्रोतले बताएको छ । एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् । पूर्वएमालेका त्यागी नेताहरुलाई अवसर नदिएर भए पनि ओलीले नवप्रवेशीहरुलाई सत्तामा प्रथामिकता दिएका छन् ।

काठमाडौं बाहिर प्रदेशस्तरमा पनि माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम देखिएको छ । पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् । ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् । त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् । लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ । माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ । माओवादीका सांसदहरुको संख्या घट्दै जाँदा विपक्षी गठबन्धनको गणित कमजोर हुने र एमालेको सरकार टिकाउन सजिलो हुने विश्लेषण एमाले नेताहरुले गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !