१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मेलम्चीको पानी वितरणमा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन



मेलम्ची आयोजनाको खानेपानी वितरण गर्दा उत्पन्न समस्यालाई समाधान गर्न विशेष कार्यदल गठन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणिचन्द्र थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी कार्यदल गठन गरिएको हो ।

मेलम्ची आयोजनाको पानी वितरण गर्दा काठमाडौं उपत्यकाको सडकमा परेको समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको प्रतिनिधि सम्मिलित ५ जनाको ‘विशेष कार्यदल’ गठन गरिएको भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव कल्पना वाइवाले जानकारी दिइन् ।

उनले नेपालप्रेससँग भनिन्, ‘यो कार्यदलले काठमाडौं उपत्यकाको मेलम्ची आयोजनाको खानेपानी वितरण कार्यक्रमले सिर्जना गरेको समस्याको समाधान गर्नेछ ।’

गत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण गर्न थालिएको थियो । तर पुरानो पाइपलाइनमा पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानमा पानीको पाइप फुटेर सडकमा क्षति पुगेको छ ।

‘खानेपानी वितरण गर्दा  चुवावटका कारण सडकहरु क्षति गरिरहेको छ । उनले भनिन्, ‘पानीको पाइपहरु फुट्ने, हिलो हुने अथवा भर्खरै पीच गरेको सडकमा नालाहरु विछ्याउन खनेको कारणले गर्दा सडकमा समस्या आएको छ ।’

ती समस्याहरुलाई तत्काल समाधान गर्न भौतिक मन्त्रालय अन्तर्गतका र खानेपानी मन्त्रालयअन्तर्गत ५ जनाको सयुंक्त कार्यदल बनाएको उनले बताइन् । कार्यदलले भोलिदेखि नै काम अगाडि बढाउने यातायात मन्त्रालयले जनाएको छ ।

पुरानो पाइपहरु परीक्षण नगरी पाइपमा पानी पठाउँदा सडक हिलाम्मे बनेको भन्दै सडक विभागले गुनासो गरेको थियो । विभागले कालोपत्रे गरेको सडक पाइप फुटेर मर्मत गर्नुपर्ने अवस्था आएपछि भत्काएको थियो ।

काठमाडौं उपत्यका खानेपानी वितरण लिमिटेड (केयुकेएल) ले हालसम्म २ सयभन्दा बढी स्थानको पाइप फुटेकाले सडक भत्काएर मर्मत गरेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनले भने, ‘अहिले धेरै ठाउँमा समस्या आइरहेको छ । त्यसको मर्मतको लागि भर्खरै पीच गरेको सडकसमेत भत्काउनु परेको छ । त्यसका लागि हामीले सडक विभागसँग सहकार्य गरिरहेका छौ ।’

उनका अनुसार कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टीमले समस्या समाधान गरिरहेको छ । पाइपलाइनमा समस्या आएकाले केही स्थानमा पानी वितरणको कामसमेत केही दिनको लागि रोकिएको छ


प्रतिक्रिया दिनुहोस !