१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नयाँ सत्ता समीकरणका लागि देउवासँग डा. भट्टराई र यादवको भेटघाट



काठमाडौं : नयाँ सत्ता समीकरणका लागि जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । मंगलबार सभापति देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच भेटघाटसँगै नयाँ सरकार गठनमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भएको हो । तर, तीन नेताबीच के के विषयमा छलफल भए भन्ने जानकारी दिइएको छैन । छलफलमा कसरी नयाँ सत्ता समीकरण गरेर अघि जान सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर छलफल भएको बताइएको छ । यसअघि शुक्रबार सभपाति देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठकमा नयाँ सरकार बनाउन आफू तयार रहेको बताएका थिए ।

नयाँ सरकार गठनमा माओवादी तयारी अवस्थामै रहे पनि जसपाभित्र दुई अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना माग पूरा नभए सरकार गठनमा नजाने अडानमा छन् । रेशम चौधरीको रिहाइ र बन्दी रिहाइबारे जस्ले आफूलाई सघाउछ उसँगै मिलेर सरकार गठन गर्ने दुई अध्यक्षद्वय ठाकुर र महतोका अडान रहेको छ । यता, यादव र डा. भट्टराई भने जसरी हुन्छ ओली सरकार गिराएर नयाँ सरकार बनाउनुको विकल्प नभएको बताइरहेका छन् । जसपाभित्र कुरा नमिल्दा नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्मा जाने कि नजाने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !