१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

युवा र बालबालिकामा धमाधम देखिन थाल्यो नयाँ भेरियन्टको कोरोना



काठमाडौं : नेपालमा नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकालाई धमाधम देखिन थालेको छ । शहरी क्षेत्रमा खतराको घण्टी बजेको स्वास्थ्य मन्त्रालयले पनि स्वीकारेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको आँकडाअनुसार काठमाडौं उपत्यका र पोखरामा सबैभन्दा धेरै नयाँ भेरियन्टका संक्रमित भेटिएका छन् । पोखरामा १७६ जनामा गरिएको परीक्षणमा १०५ जनामा ‘एस’ जीन नेगेटिभ भेटिएको छ भने काठमाडौंमा ७६ जनामा गरिएको कोरोना परीक्षणमा ४८ जनामा ‘एस’ जीन नेगेटिभ देखिएको छ । अधिकांश युवा र कम उमेरका बालबालिकामा नयाँ भेरियन्टको पुष्टि भएको छ । तर, देशभर कति नयाँ भेरियन्टका संक्रमित छन् भन्ने तथ्याङ्क भने सरकारसँग छैन । पछिल्लो समय कोरोना संक्रमित हुनेमा युवा र बालबालिका भएकाले डरलाग्दो स्थिति सृजना भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए ।

कोरोना भाइरसको संक्रमण बालबालिकामा देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्नेमा जोड दिएको छ । मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न सुझाए पनि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएन । निजी विद्यालय सञ्चालक तथा सरोकारवालाले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खुल्नुपर्ने अडान राखेपछि सरकारले तत्काल विद्यालयहरु पूर्ववत् अवस्थामै खुल्न दिने नीति लिएको हो । सोमबारै सरोकारवालाले शिक्षा मन्त्रालयले जारी गरेको मापदण्डलाई कडाइका साथ पालना गर्दै विद्यालय खुला राखिनुपर्ने धारणा राखेका थिए । कतिपयले भने बालबालिकामा जोखिम रहँदा रहँदै पनि सरकारले विद्यालय सञ्चालकहरुको दबावमा परेर विद्यालय तत्काल बन्द नगर्ने मुड बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

दैनिक ११ हजारसम्म संक्रमित पुग्न सक्ने

यसैबीच, स्वास्थ्य मन्त्रालयले नेपालमा दैनिक ११ हजारसम्म संक्रमित पुग्न सक्ने प्रक्षेपण गरेको छ । अहिलेकै दरमा संक्रमण बढदै गएमा जेठ असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिने मन्त्रालयले प्रक्षेपण गरेको छ । साथै, संक्रमण वृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने पनि मन्त्रालयको प्रक्षेपण छ । सीमा नाकामा कडा निगरानी र व्यवस्थित हेल्थ डेक्स सञ्चालन गरिरहेको सरकारको दाबी छ । तर, सरकारले दावी गरेजस्तो सीमा नाकामा कडाइ र हेल्थ डेक्स प्रभावकारी छैनन् । सीमा नाका र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न मन्त्रालयले निर्देशन दिइसकेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा नाका हुँदै विना परीक्षण हजारौं मानिस गाउँगाउँ पुगिसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !