नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुली चौरमा आयोजित कार्यक्रमलाई बुधबार सम्वोधन गर्दै नेता पुनले भने ‘अलिकति नैतिकता छ भने राजीनामा दिनुस्, तपाईंका अहिलेका कमजोरी र आलोचना रातारात पखालिन्छन्, तपाईंको व्यक्तित्व अग्लिनेछ ।’
सुलिचौरमा आयोजित प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै रोल्पाका जनप्रतिनिधिसमेत रहेका पुनले प्रधानमन्त्री ओलीले राजीनामा नदिए हटाइने बताए । उनले भने, ‘यसरी देश चल्दैन, केही दिनपछि ओलीजी हटाइनुभयो, अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाउनुहुनेछ ।’
माओवादी नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दा पनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको आरोप छ । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दा पनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको पुनले टिप्पणी गरे ।