१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एकवर्षमा देशका ५० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन, चिनियाँ कम्पनीसँग ३८ करोडको सम्झौता



नेपाल विद्युत प्राधिकरणले देशका ५० विभिन्न स्थानमा विद्युतीय सवारीसाधनहरुका लागि चार्जिङ स्टेसन स्थापना गर्न चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीसँग ठेक्का सम्झौता गरेको छ। एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा सातै प्रदेशमा चार्जिङ स्टेसन निर्माण हुन लागेको हो ।

विद्युत उत्पादन परिमाण बढ्दै गएपछि त्यसको खपत प्रोत्साहनका लागि सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने बताउँदै आएको छ । सोहीअनुरुप विद्युत प्राधिकरणले विद्युतीय सवारी र त्यसमा पनि अझ सार्वजनिक सवारीका लागि विद्युतीय बसहरुको प्रयोग समेत प्रोत्साहित गर्न चिनियाँ कम्पनीसँग चार्जिङ स्टेशन स्थापनाका लागि सम्झौता गरेको हो ।

सम्झौताअनुरुप चिनियाँ कम्पनीले एक वर्षभित्रै सातै प्रदेशका विभिन्न स्थानहरुमा चार्जिङ स्टेशन स्थापना गरिसक्नु पर्नेछ । यसअन्तर्गत उक्त चिनियाँ कम्पनीले चार्जिङ स्टेशनका लागि आवश्यक उपकरणहरुको आपूर्ति, डेलिभरी, जडान, परीक्षण, स्थापना, सञ्चालन र पाँच वर्षसम्म मर्मतसम्भार समेत गर्नुपर्नेछ ।

चार्जिङ स्टेसनमा जडान गरिने चार्जरको आकार एक सय ४२ किलोवाट हुनेछ। एकपटकमा तीनवटा गाडी चार्ज गर्न मिल्ने बताइएको छ। जडान गरिने चार्जरको ब्राण्ड स्टार चार्ज हुने प्राधिकरणले जनाएको छ।

उपभोक्ताहरुले गाडी चार्ज गरेवापतको शुल्क मोबाइल एप्लिकेशन र क्युआर कोडमार्फत वा विद्युतीय माध्यमबाटै भुक्तानी गर्न सक्नेछन्।

चार्जिङ स्टेसनहरु सातवटै प्रदेशका मुख्य राजमार्ग र सहर नजिकका बसपार्क क्षेत्रमा जडान गरिने प्राधिकरणले जनाएको छ।

सात प्रदेशका यी ठाउँमा हुनेछन् चार्जिङ स्टेशन

प्रदेश १ को पाँच स्थानहरु दमक, भद्रपुर, कन्काई, बिराटनगर र इटहरीमा चार्जिङ स्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ। प्रदेश दुईका सात स्थानहरु बिरगञ्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केवर, जनकपुरधाम, बर्दिबास र राजविराजमा जडान हुनेछ।

बागमती प्रदेशमा १३ वटा चार्जिङ स्टेसन जडान हुनेछन्। मुग्लिन/कुरिन्टारमा चार वटा चार्जिङ स्टेनस हुनेछ। मलेखु, सिन्धुली, हेटौंडा र भरतपुरमा दुई/दुई वटा र बनेपामा एउटा चार्जिङ स्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा सातवटा चार्जिङ स्टेसन निर्माण गर्ने सम्झौतामा उल्लेख छ।

गण्डकी प्रदेशमा ६ वटा चार्जिङ स्टेसन निर्माण हुनेछन्। पोखरामा तीन वटा रहनेगरी नवलपुर, दमौली र स्याङ्जामा एक/एक वटा चार्जिङ स्टेसन निर्माण गरिने सम्झौतामा उल्लेख छ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसन जडान हुने प्राधिकरणले जनाएको छ। बुटवलमा तीनवटा, बर्दघाट/सुनुवलमा दुई/दुईवटा चार्जिङ स्टेसन रहने छन्। नेपालगञ्ज, भालुवाङ र दाङमा एक/एकवटा स्टेसन निर्माण गर्ने तयारी प्राधिकरणको छ।

कर्णाली प्रदेशमा भने सुर्खेतमा एउटा मात्रै चार्जिङ स्टेसन निर्माण गर्ने प्राधिकरणले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन निर्माण हुनेछन्। महेन्द्रनगर, धनगढी र डडेलधुरामा एक/एकवटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना प्राधिकरणको छ।


प्रतिक्रिया दिनुहोस !