१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस



शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्नेछ । र, परीक्षाहरु पनि सुचारु हुनुपर्ने कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्ताव छ ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले  जानकारी दिइन् ।
बैठकले  शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ ।
यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ ।
बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो ।

सीसीएमसीले गरेको सिफारिस भने  मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।

अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा नरोकिने

सीसीएमसीका सचिव खगराज बरालले शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द हुने अर्थमा यो सिफारिसलाई बुझ्न नमिल्ने बताए । विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने र परीक्षाहरु पनि नरोकिने उनले बताए ।

शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्दा मेडिकल कलेजका विद्यार्थीलाई पर्न सक्ने असरका विषयमा पनि सीसीएमसीले ध्यान दिएको उनले बताए ।  उनका अनुसार शनिबारको बैठकमा खासगरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ ।

याे प्रस्तावलाई करेक्सन गरेर सीसीएमसीले क्याबिनेटमा सिफारिस गर्ने सचिव बरालले बताएका छन्


प्रतिक्रिया दिनुहोस !