१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कोरोना रोक्न प्रतिबन्धात्मक कदमहरू घोषणा गर्दै सरकार, मन्त्रालयको बीचमा मतभेद



काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले केही प्रतिबन्धात्मक कदमहरू घोषणा गर्ने निर्णय गरेको छ । मंमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवस्थामा पुग्नु नपर्नेगरी कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामबारे निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। जनताको जीवन जोगाउनका लागि सकेसम्म फेरि लकडाउनमा जान नपरोस् भनेर स्वास्थ्य मन्त्रालयले कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा लगेका प्रस्तावहरू केही परिमार्जनसहित पारित भएको मन्त्री त्रिपाठीले बताए । त्यसबारे विस्तृत विवरण सरकारले सोमवार दिउँसोसम्म औपचारिक रूपमै सार्वजनिक गर्ने उनले बताए।

मन्त्रालयबीच मतभेद
यसअघि विद्यालयहरूमा प्रत्यक्ष पठनपाठन स्थगित गर्ने विषयमा शिक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच गम्भीर मतभेद रहेका विवरणहरू सार्वजनिक भएका थिए। विद्यालयहरू बन्द गर्न आवश्यक नरहेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका थिए भने स्वास्थ्यमन्त्री त्रिपाठीले हाल बालबालिकालाई विद्यालय पठाउन नहुनेमा जोड दिँदै आएका थिए। केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त ठानिएका ठाउँका विद्यालयमा आफ्ना बालबालिकालाई नपठाउन औपचारिक रूपमै आग्रह गरेको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको दृष्टिकोणले हालै काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, रूपन्देही, चितवन, बाँके, कैलाली, दाङ, बारा, पर्सा, मोरङ, बागलुङ र सुर्खेत जिल्लालाई अतिप्रभावित जिल्लामा राखेको थियो।

 


प्रतिक्रिया दिनुहोस !