१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आजदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाइँदै



काठमाडौं : नेपालमा मंगलबार देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाइँदैछ । आज पहिलो चरणको खोप लगाएकालाई दोस्रो डोज लगाइने छ । दोस्रो डोजको खोप लगाउने अभियान बैशाख ११ गतेसम्म चल्नेछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुले दोस्रो डोजको खोप लगाउने छन् ।

पहिलो चरणमा चार लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट खोप लिन सकिनेछ । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभागका प्रमुख डा. झलक शर्मा गौतमले बताए । सरकारले दोस्रो डोजको खोप लगाउन पहिले लगाएको मिति अनुसार पालो तोकेको छ ।

जसअनुसार माघ १४, १५, १६, १७ , २६ , २७, २८ र २९ गते पहिलो डोजको खोप लगाएकाहरूले आज दोस्रो डोज लगाउन पाउनेछन् । यसैगरि माघ १८, १९, २०, २१ , २२ र फागुन २ गते खोप लगाएकाहरूलाई भोलि, माघ २३ र फागुन ३, ४ र ५ गते खोप लगाएकाहरूलाई पर्सि वैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते खोप लगाएकाहरूलाई वैशाख १० गते तथा माघ ३०, फागुन ७ र १० गते खोप लगाएकाहरूलाई वैशाख ११ गते दोस्रो डोजको खोप दिइनेछ ।


प्रतिक्रिया दिनुहोस !