१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नेपालगञ्जमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने



नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरले अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्ने भएको छ। दुबै अस्पतालमा कोराना संक्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भएका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । कोरोना भाइरस संक्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोरोना संक्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो ।

भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १ सय २ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनसार १५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शंकास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेशन वार्डसमेत करीबकरीब भरिइसकेको छ ।संक्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ । भेरी अस्पतालमा अहिले कोरोना संक्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा. थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !