१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।

‘एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण हुँदा उपचारमा समस्या आएको छ,’ केसीले अनलाइनखबरसँग भनिन्, ‘संक्रमित स्वास्थ्यकर्मी समेत अहिले उपचारमा खट्नु पर्ने बाध्यता छ ।’ १५ जना जति स्टाफ नर्स कोरोना मुक्त भएर पुनः काम फर्किएका कारण उपचारमा केही सहजता भएको भएपनि पर्याप्त नभएको उनले बताइन् ।

संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा रहेको उनले बताइन् । अस्पतालमा अहिले २४२ जना संक्रमित उपचाररत रहेको उनले बताइन् । ‘आईसीयूमा ७५, भेन्टिलेटरमा ९ र अन्य आइसोलेसन बेडमा उपचाररत छन्,’ उनले भनिन्, ‘जसमध्ये ७५ देखि ८० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको छ । एक जनाले २० जना बिरामीलाई हेर्नुपरेको छ ।’


प्रतिक्रिया दिनुहोस !