१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिममा संकटको संकेत : एक वर्षीया बालिकासहित चार संक्रमितको मृत्यु



धनगढी- एक वर्षीया बालिकासहित सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भीमदत्त नगरपालिकाका संक्रमितको आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको बताए । अर्का संक्रमितलाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको थियो । उनीहरु दुवैमा कडा खालको निमोनिया देखिएको डाक्टर रोकायाले जानकारी दिए ।

यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गएराति मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बैशाख १५ गते अस्पताल भर्ना भएका उनको राति करिब साढे ९ बजेको मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमितमा कडा खालको निमोनिया रहेको पनि श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !