१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपालमा कोरोना संक्रमित मध्ये झण्डै १० प्रतिशत बालबालिका मात्रै



काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।

मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।

चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् । वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरु के भन्छन् ?

बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले तथ्यांक भन्दा बढी बालबालिकामा संक्रमण देखिन सक्ने बताउँछन् । ‘धेरै संख्यामा लक्षण भएका बालबालिका पनि परीक्षणका दायरामा आएका छैनन् । परीक्षण भएका बालबालिकाको स्वाब संकलनमै समस्य हुने भएकाले पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छैन । जति बालबालिकामा संक्रमण देखिएको छ यो पनि धेरै हो ।’ समुदाय स्तरमा अझ धेरै संक्रमित बालबालिका हुन सक्ने उनको अनुमान छ ।

कोरोनाको दोस्रो लहर देखिने बित्तिकै स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय तथा कलेजहरु बन्द गर्न सुझाव दिएको भएपनि त्यसो हुन नसक्दा कोरोनाको संक्रमण दर बढेको हुन सक्ने उनी बताउँछन् । २० वर्षदेखि माथि र ५० वर्षभन्दा मुनिका उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण बढी देखिनु नै समुदायका लागि खतरा रहेको उनले बताए । यो उमेर समूहका मानिसहरु कलेज, अफिस, व्यापार तथा व्यवसायमा सक्रिय रहँदा बढी भिडभाडमा रहनु परेका कारण उनीहरुबाट संक्रमण परिवारमा सरेको हुन सक्ने उनको आशंका छ ।

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको उनको ठम्याइ छ ।

पछिल्लो समय बाँकेको नेपालगञ्ज कोरोनाको हटस्पट नै बन्न पुगेको छ । कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ । कोरोना संक्रमितले बाँकेका अस्पतालहरु भरिभराउ भएका छन् । बाँकेको भेरी अस्पतालका डाक्टर राजन पाण्डेले सरकारले विद्यालय बन्द गर्न ढिलाइ गरेका कारण पनि बालबालिकामा कोरोनाको जोखिम बढेको बताउँछन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि अस्पतालसम्म आइपुगेका बालबालिकाको मात्रै परीक्षण हुने गरेको पाइएको उनी बताउँछन् । सामान्य लक्षण भएका, कन्ट्याक्ट ट्रेसिङमा परेका बालबालिकाहरुको परीक्षण नै हुन नसकेका उनी बताउँछन् ।

बाँके जस्तै कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र वीरगञ्ज पनि हो । वीरगञ्जस्थित नारायणी अस्पतालका डा. सरोज रोशन दासका अनुसार बालबालिकामा संक्रमण पुष्टि भएपनि अस्पतालमा कोही पनि भर्ना भएका छैनन् । उनले भने, ‘अस्पतालको प्रयोशालामा परीक्षण गर्दा १ वर्षदेखि माथिका बालबालिकामा संक्रमण भएको पाइएको छ । तर सामान्य ज्वरो मात्रै देखिएका कारण चिकित्सकको सल्लाह अनुसार उनीहरु घरमै छन् ।’

संक्रमितको अत्याधिक चाप रहेका कारण जटिल खालका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने भएकाले पनि सामान्य लक्षण भएका बालबालिका घरमै रहेको उनको भनाइ छ ।

बालबालिकालाई कसरी जोगाउने ?

बालबालिकालाई कोरोना संक्रमण हुनबाट बचाउन अभभिावक नै बढी सेचत र जिम्मेवार हुनुपर्ने चिकित्सकहरु बताउँछन् । संक्रमण तीब्र रुपमा बढी रहेका कारण बालबालिकालाई घर बाहिर निस्कन नदिने, स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने र गराउन लगाउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

बालबालिकालाई लक्षित गरी कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्नुपर्ने नारायणी अस्पतालका कोभिड फोकल पर्सन दास बताउँछन् ।- अनलाईनखबरबाट साभार 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय