१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिक भयो नागरिक एपको फुल भर्सन



काठमाडौं- सबै सरकारी सेवा एउटै एपबाट दिने गरी तयार पारिएको नागरिक एपको फुल भर्सन सार्वजनिक भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एपको औपचारिक सुरुवात गरेका हुन् । अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपमार्फत दिने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेका थिए । बेटा भर्सनकै क्रममा यो एप सवा पाँच लाखभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ताले आफूलाई दर्ता गराइसकेको बताइएको छ ।

यस क्रममा तीन हजारले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गरेका छन् भने प्यान नम्बर लिनेको संख्या १० हजारभन्दा बढी छ । डिजिटल नेपाल निर्माणको परिकल्पना अनुसार पछिल्लो समय विभिन्न सार्वजनिक तथा सरकारी सेवाहरु अनलाइनमा उपलब्ध हुन थालेका छन् । त्यसका लागि छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुनेगरेको भन्दै सरकारले एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको हो । यसमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणीत विवरण छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि यसमा जोडिएको छ । एसएलसी र प्लसटु तहका शैक्षिक विवरणसमेत एपमा राखिएका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको जानकारी हेर्न सकिने सुविधा पनि यसमा थपिएको छ ।

नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा केही समय अघिदेखि यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गर्न सकिने भएको छ ।

प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा लिङ्क गराउन सक्छन् । यसअघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एपको खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकम समेत एपमा जोडिएको छ ।


प्रतिक्रिया दिनुहोस !