७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तीन बालकको मृत्यु प्रकरण, कारण अझै पत्ता लाग्न सकेन



 दाङ- दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । इलाका प्रहरी कार्यालय, तुलसीपुरको टोली पुगेर हेर्दा गाडीभित्र तीन जना बालकको शव थियो । घटना गम्भीर हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी गणेश चन्द आफैं घटनास्थलमा पुगे । प्रदेश प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुर बोलाइयो, जिल्लाबाट फरेन्सिक विज्ञ डाक्टरको टोलीले पनि घटनास्थल पुगेर जाँच थाल्यो ।

चोटपटक छैन, झ्याल फुटाउने प्रयास

जिल्ला प्रहरी प्रमुख चन्दका अनुसार मृत्यु हुनेको राति नै सनाखत भएको छ । ज्यान गुमाउनेमा घटनास्थल नजिकै घर भएका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीया छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण छन् । उनीहरु चार दिनअघिबाट हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा भएको फरेन्सिक जाँचका क्रममा तीनजनाकै शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि नै विस्तृतमा थाहा हुने जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी मुकुन्द रिजाल बताउँछन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार मृतकमध्ये दुईजनाको कपडा खोलेको पाइएको छ भने कारको सीसा फुटाउने प्रयास गरेको पनि देखिएको छ । ‘एउटा झ्यालमा सीसा चर्किएको छ, बाहिर निस्किने प्रयास गरेको जस्तो देखिन्छ’ एक अधिकारीले सुनाए, ‘प्रारम्भिक जाँचमा घटनामा कोही तेस्रो पक्ष संलग्न छ जस्तो देखिँदैन ।’

प्रहरीले सोधपुछका लागि बेलुकी नै कारका मालिक यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको थियो । उनले पनि शव भेटिएका बालकहरुलाई नचिनेको बयान दिएका छन् । ‘रुट परमिट पनि थिएन, त्यसमाथि बिग्रिएपछि थन्क्याएको थिएँ’, गैरेले प्रहरीसँग भनेका छन्, ‘गाडीको ढोका रिमोटबाट खुल्ने हो, बच्चाहरु कसरी छिरे थाहा छैन ।’

एक प्रहरी अधिकृत भन्छन्, ‘चिकित्सकहरुले पनि प्रारम्भिक जाँचमा निसासिएर मृत्यु भएको हुनसक्ने भनेका छन् ।’ प्रहरी गरेको प्राविधिक पक्षको अनुसन्धानबाट पनि गैरे र मृतकबीच कुनै सम्बन्ध भेटिएको छैन । हत्या गर्नुपर्ने कुनै कारण पनि नदेखिएको अवस्थामा चोटपटक पनि नदेखिएपछि प्रहरीले घटना भवितव्य भएको हुनसक्ने आशंका गरेको छ ।

त्यसैले अनुसन्धान अधिकृतहरुले बालबालिका खेल्ने क्रममा कारको ढोका खुलेको र बाहिर निस्किने बेला चाहिँ बन्द भएको हुनसक्ने अनुमान गरेका छन् । र, निस्किन नसक्दा निस्सासिएर मृत्यु भएको हुनसक्ने उनीहरुको अनुमान छ ।- अनलाइनखबरबाट 


प्रतिक्रिया दिनुहोस !