१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निषेधाज्ञालाई थप कडाइ गरिने, भोलिदेखि बेलुका पसल खोल्न नपाइने



काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नेपाल प्रेससँग भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए । ‘अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

आजै बेलुका भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग बसेर थप निर्णय गर्ने जानकारी काठमाडौं सीडीओ पराजुलीले दिए ।


प्रतिक्रिया दिनुहोस !