१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

१२ औं जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित



काठमाडौं- केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित भएको छ । कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले नेपाल प्रेसलाई जानकारी दिए । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।

‘अहिले गणकहरूलाई खटाउने अवस्था पनि छैन , सही तथ्याङ्क पनि आउन सक्दैन । मान्छे डराएकाले विवरणहरू संकलन गर्न कठिन अवस्था भएको हुँदा जनगणना हुन सक्दैन ‘ ,उनले भने । कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने उनले बताए । ‘अहिलेको अवस्था हेर्दा साउन भन्दा अगाडि जनगणना होला भन्ने मलाई लाग्दैन ‘, कँडेलले भने ।

गणना मन्त्रिपरिषदले स्थगित गरेको जानकारी प्राप्त भएको भएपनि आधिकारिक पत्र प्राप्त नभएको बिभागका एक अधिकारीले बताए । ‘स्थगित गरियो भन्ने सुनेको हो आधिकारिक पत्र आउन बाँकी छ’, उनले भने । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको थियो ।

गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !