१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पार्टीलाई सानदार जित दिलाइन् तर आफू हारिन् ममता बनर्जीले



एजेन्सी- पश्चिम बंगालको विधानसभा चुनावमा मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीले पार्टीलाई ठूलो जित दिलाए पनि आफै भने चुनाव हारेकी छिन् । नन्दिग्राम विधानसभा क्षेत्रको अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टीका सुवेन्दु अधिकारीले १९ सय ५६ मतले मुख्यमन्त्री बनर्जीलाई पराजित गरेका हुन् । अधिकारीले १ लाख १० हजार ७ सय ६४ मत प्राप्त गर्दा बनर्जीले १ लाख ८ हजार ८ सय ८ मत प्राप्त गरिन् ।

पश्चिम बंगालमा विभिन्न आठ चरणमा विधानसभा चुनाव भएको थियो । मतगणनाअनुसार ममताको पार्टी तृणमूलले भारी बहुमतसहित लगातार तेस्रो पटक सरकार बनाउने भएको छ । पछिल्लो मतपरिणामअनुसार टीएमसीले २९४ (चुनाव भएको २९२) विधानसभा सीट मध्ये २१६ मा अग्रता लिएको छ । भारतीय जनता पार्टी भने ७४ सिटमा अगाडि छ । तर, टीएमसी प्रमुख ममता आफै भने चुनावमा पराजित भएकी छिन् ।

कोलकातामा ममताको जितको खुसी मनाउन सुरु भइसकेको थियो । विभिन्न पार्टीका नेताले ममतालाई जितका लागि बधाई समेत दिएका थिए । तर, निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्दै सुवेन्दुले चुनाव जितेको घोषणा गरेको छ । भारतीय सन्चारमाध्यमहरुका ममताले निर्वाचन आयोगले पहिले चुनाव जितेको बताएर अन्तिम नतिजामा हारेको देखाएको भन्दै आक्रोश पोखेकी छिन् । ममताले पत्रकार सम्मेलनमा नन्दिग्राममा बीजेपीले धाँधली गरेको आरोपसमेत लगाएकी थिइन् । त्यस्तै निर्वाचन आयोगको कदमविरुद्ध अदालत जाने पनि उनले बताएकी छिन् ।

त्यसो त ममताको नन्दीग्रामको उम्मेदवारीलाई पहिलेदेखि नै निकै जोखिमपूर्ण ठानिएको थियो । किनभने नन्दीग्राम सुवेन्दुको पकड क्षेत्रमा रुपमा चिनिँदै आएको थियो । त्यसका कारण टीएमसी छाडेर भाजपा गएका सुवेन्दुविरुद्ध ममताको उम्मेदवारीलाई निकै जोखिमपूर्ण ठानिएको थियो ।


प्रतिक्रिया दिनुहोस !