१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

उपत्यकाका ठुला सरकारी र निजी अस्पताललाई अब कोभिड अस्पताल बनाइने



 प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रमा गत वर्ष भन्दा उल्लेखनीय सुधार भएको बताएका छन्।

देशवासीको नाममा आज सम्बोधन गर्दै ओलीले कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएको अवस्थामा जनतालाई स्वास्थ्य उपचारको प्रत्याभूति दिन सरकार लागेको बताएका हुन्। खोप प्रदान गर्नेमा नेपाल दक्षिण एसियामा भारतपछि रहेको भन्दै उनले यसलाई निरन्तरता दिइने बताए।

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उनले कोभिड १९ विरुद्धको लडाइँमा समन्वय गरेर काम गर्ने ओलीले बताए।उनले हाल सबै स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण र प्रदेश र केन्द्रमा संक्रामक अस्पताल निर्माणलाई तीव्रता दिइएको बताए।

ओलीले  नेपाली सेनालाई प्रदेश तथा राजधानीमा १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताउँदै वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताए।

प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा संचालन गर्ने उनले बताए।

साथै सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गरिने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !