१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सेनाले थाल्यो हजार शय्याको अस्थायी कोरोना अस्पतालको निर्माण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएपछि नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो ।

काठमाडौँको हकमा भने सेनाले महांकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ । पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।


प्रतिक्रिया दिनुहोस !