११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बंगालमा ममता बेनर्जीको तेस्रो पटक पनि ह्याट्रिक, लिइन मुख्यमन्त्रीको सपथ



काठमाडौं- पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् । तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा सपथ लिएकी हुन् । कोभिड-१९ महामारीको कारण सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा आमन्त्रित गरिएको थियो । गभर्नर जगदीप धंकरले बेनर्जीलाई सपथ ग्रहण गराए ।

सपथ ग्रहणपछि बोल्दै बेनर्जीले पार्टीलाई जिताउन योगदान दिने कार्यकर्तालाई धन्यवाद दिइन् । उनले मुख्यमन्त्री भएपछि आफ्नो पहिलो प्राथमिकता कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्नु रहेको समेत बताइन् । कोरोनाको परिस्थितीबारे छलफल गर्न उनले आजै आपतकालिन बैठक बोलाउने समेत जानकारी दिइन् । भारी बहुमतसाथ तृणमूल कंग्रेस पुनः पश्चिम बंगालको सत्तामा फर्किएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नन्दीग्रामबाट पराजित भएपनि ममताले टीएमसीको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । ६ महिनामा उनले संसदबाट विश्वासको मत लिनुपर्छ । लिन नसके उनले मुख्यमन्त्री छाड्नुपर्नेछ ।

बीजेपीका शुभेन्दु अधिकारीले नन्दीग्रामबाट बेनर्जीलाई हराएका थिए । नरेन्द्र मोदीको बीजेपी दोस्रो दल बनेपनि बंगालको राजनीतिमा उसले राजनीतिक हैसियत आर्जन गरेको छ । पाँचवर्षअघि ३ सिट जितेको बीजेपीले २०२१ को चुनावमा झन्डै ८० सिट प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !