७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एनआईसी एसिया बैंक विरुद्ध ३ सय बढी उजुरी परेपछि….



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा एनआईसी एसिया बैंकमाथि ३ सयभन्दा बढी उजुरी परेपछि केन्द्रीय बैंकले छानविन सुरु गरेको छ । अनाहकमै ऋणीको सम्पत्ति हड्प्न खोजेकोदेखि मनलाग्दी ब्याज लिन थालेका जस्ता कैयौं उजुरी परेपछि एनआईसी एसिया बैंकमाथि अनुसन्धान गर्न केही दिन अघि नेपाल राष्ट बैंकले स्पष्टिकरण सोधिसकेको छ । शक्तिको आडमा बैंकले ऋणीलाई अनावश्यक दुख दिएको, केन्द्रीय बैंकमा बारम्बार उजुरी हाल्दा पनि कुनै सुनुवाई नभएको, राष्ट्र बैंकलाई नै मिलाएर राखेको जस्ता आरोप खेपेको केन्द्रीय बैंकले स्पष्टिकरण सोधेको हो ।

बैंकले एक वर्षका लागि सेयर लोन बनाउने, त्यहाँबाट कमिसन लिने र दुई महिनापछि उक्त लोन नै हटाउने, एउटा दररेटमा ऋणीलाई कर्जा प्रवाह गर्ने र बीचमै मनलाग्दी रुपमा ब्याजदर बढाउने र नदिरेमा सम्पत्ति लिलामी गर्नेसम्मका हर्कत गरेपछि केन्द्रीय बैंकले बाध्य भएर अनुसन्धान सुरु गरेको बताईन्छ । बैंक तथा वित्तीय संस्थाले पालना गर्नुपर्ने न्यूनतम नियम पनि पालना नगर्दा पनि केन्द्रीय बैंक मौन बसेको थियो । तर, चौतर्फी दबाब बढेपछि अहिले एनआईसी एसियामाथि परेको उजुरीको पोखो खोलेको हो । एनआईसी एसिया बैंकका कर्मचारीका अनुसार प्रत्येक दुई महिनामा हरेक ब्रान्चका सम्पूर्ण कर्मचारी परिवर्तन गर्ने नीति अख्तियार गरेको छ । ऋणीसँग कर्जा प्रवाह गर्ने कर्मचारीको कुनै सम्बन्ध नहोस् भनेर यसो गर्न थालिएको स्रोतको भनाइ छ ।

ऋणी र ब्रान्च म्यानेजर तथा कर्मचारीबीच सम्बन्ध हुनै नदिने व्यवस्थापकीय निर्देशन छ । त्यही भएर एउटा हाकिम हुँदा एउटा रेटमा ऋण लिइएको हुन्छ । त्यसको दुई महिनापछि उक्त ऋणको ब्याज मनलाग्दी रुपमा बढाइसकेको हुन्छ । बैंकमा ऋणी बुझ्न जादा जुन व्यक्तिगँग नेगोसिएसन गरेर ऋण लिएको हुन्छ, त्यो त्यहाँ हुँदैन । नयाँ आएको ब्रान्च म्यानेजरलाई कुरा गर्यो भने माथिबाटै यस्तो गरिएको हो । हाम्रो केही लाग्दैन भन्ने जवाफ दिने गरेको एक ऋणीले बताए । बैंक तथा वित्तीय क्षेत्रमा मात्रै होइन्, व्यवसायी वित्तमै एनआईसी एसिया बैंकलाई नराम्रो दृष्टिकोणबाट हेरिने गरिन्छ । कतिपय व्यवसायीले एनआइसी एसिया बैंकले जे गरे पनि कुनै केन्द्रीय बैंकबाट कुनै पनि कारबाही नहुने समेत भन्न थालेका छन् । बारम्बार उजुरी दिँदा पनि केन्द्रीय बैंकबाट कुनै सुनुवाइ नभएपछि उनीहरुले त्यस्तो निश्कर्ष निकालेका हुन् । एनआईसी एसियाले ऋण दिँदै खराब नियत राख्ने गरेकाले ठूलो व्यवसायीले ऋण लिन छाडेका छन् ।

बैंकले डिपोजिटमा आकर्षक ब्याजदर सार्वजनिक गरेर निक्षेप संकलन गर्ने र ग्राहकलाई थाहै नदिई उक्त स्किम बन्द गर्ने समेत गरेको छ । केही समय अघि गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लाग्दै भने ‘होसियार एनआईसी एसियाका ग्राहक । ब्याजमा कसरी ठगिरहेका छ रु तपाईँलाई फकारएर केही वर्ष सबैभन्दा बढी ब्याज दिने भनि खोलिएको साबिक सुलभको ब्याज हाल घटेर २.५ प्रतिशतमा छ । आज छलफल गर्दा मलाई भने सहज बचतमा ३.५ प्रतिशत ब्याज दिएका छौं । कि नयाँ खाता खोल्नुस्, सहज बचतमा कि निवेदन दिएर सुलभलाई सहजमा परिणत गर्नुस्, ३.५ प्रतिशत दिन्छौ । तर, धेरै ग्राहकलाई थाहा नहुन सक्छ ।

त्यसका अलवा बैंकले आफूखुसी प्रिमियम जोडेर ब्याजदर तोक्ने गरेको पनि छ । एनआईसी एसियाले ९ प्रतिशतसम्म प्रिमियम जोड्दा समेत नियमक निकाय मौन बसेको थियो । एनआईसी एसियाको ज्यादति विरुद्ध यस अघि नै उजुरी पर्दा पनि केन्द्रीय बैंकले केही गरेको थिएन । एनआईसी एसिया बैंकको व्यवस्थापन तथा सञ्चालकलाई ऋणीको सम्पत्ति राम्रो लागेको अवस्थामा जसरी पनि उक्त सम्पत्ति हड्प्ने दाउ हुन्छ । यसैगरी देशका विभिन्न ठाउँमा बैंकले असल ऋणीको सम्पत्ति हड्पेको उजुरी पनि केन्द्रीय बैंकमा परेको छ ।

खासगरी, राष्ट्रबैंकभित्र विशाल ग्रुप र एनआईसी एसिया बैंकमा कार्यरत अर्जुन खनियाको पहुँच र प्रभाव राम्रो छ । त्यही प्रभावका आधारमा बैंकले ऋणीमाथि मनमौजी शासन चलाएको कतिपयहरुको बुझाइ छ । खासगरी एनआईसी एसिया बैंकले ब्याजमा आफूखुसी प्रिमियम थपेर ऋणीमाथि अतिरिक्त आर्थिक भार बोकाएपछि केन्द्रीय बैंकले प्रिमियमको सीमा तोक्ने तयारी गरेको छ । यद्यपि, कति प्रतिशत प्रिमियम तोक्ने भन्ने टुंगो लागिसकेको छैन् । एनआईसी एसिया बैंकसँग ठूला ऋणीहरुले ऋण लिन छाडेपछि साना तथा मझौला उद्यमीमा अत्यधिक कर्जा प्रवाह गर्ने र उनीहरुसँग जति प्रिमियम लिए पनि हुन्छ भन्ने मनशायबाट बैंकको व्यवस्थापन ग्रसित छ । अहिले साना व्यवसायीसँग १० प्रतिशतसम्म प्रिमियम लिएको पनि केन्द्रीय बैंकमा उजुरी छ ।


प्रतिक्रिया दिनुहोस !