१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सरकारले श्रमिकहरुलाई कोरोनाको उपचारबाट बञ्चित गराउने अपराध गर्यो : क्रान्तिकारी माओवादी



काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) ले ‘जनताको निःशुल्क उपचार गर्न नसक्ने घोषणा’ गरेर सरकारले करोडौंको कमिसनको चक्करमा निजी कम्पनी हुकमलाई कोरोना खोपको आयात गर्ने अनुमति दिएर मेडिकल माफियालाई पोस्ने काम गरेको बताएको छ । शनिबार प्रवक्ता प्रतीकले प्रेस वक्तव्य जारी गरेर सरकारले आर्थिक हैसियत कमजोर भएका श्रमजीवी वर्गलाई कोरोना महामारीको उपचारबाट बञ्चित गराउने जनविरोधी अपराध गरेको बताएका हुन् । त्यस्तै, सरकारको उक्त निर्णयको नेकपा (क्रान्तिकारी माओवादी) ले घोर विरोध र तीब्र भत्र्सना गरेको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सङ्कटको यस्तो गम्भीर स्थितिमा निजी तथा सरकारी अस्पतालहरुलाई एउटै कमाण्डमा परिचालन गरी कोरोना सङ्क्रमितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न र सङ्कटको बेला जनताको सम्पत्तिको ब्रह्मलुट गर्ने मेडिकल माफियालाई कडा भन्दा कडा कार्बाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

त्यस्तै, निषेधाज्ञाका कारण रोजगारी गुमाएर दुई छाक चलाउन गाह्रो भएका तथा असङ्गठित क्षेत्रमा काम गर्ने मजदुरहरुको जीवन रक्षाका लागि आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग विशेष माग पनि गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकार र अन्य सबै पार्टीहरु एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने विद्यमान परिस्थितिमा सत्ताधारी वर्गका संसदवादी पार्टीहरु सत्ता र सुविधाको भागबण्डाका लागि सत्ताको समीकरण मिलाउने काममा व्यस्त रहेका छन् । यसले “रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछन्” भन्ने भनाइलाई चरितार्थ गरेको छ ।’साथै, सरकारको जनविरोधी स्वास्थ्य नीति र मेडिकल माफियाको कालोबजारीविरुद्ध आ–आफ्नो ठाउँबाट आवाज उठाउन, आवश्यक सतर्कतासहित कोरोना सङ्क्रमितहरुको निष्पक्ष उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !