१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नगरपालिकाले राहत दिन किनेको पाँच हजार केजी चामल गोदाममै कुहियो



झापा : झापाको गौरादह नगरपालिकाले जनतालाई राहत दिन किनेको पाँच हजार केजी चामल गोदाममै कुहिएको छ । गत वर्ष नगरपालिकाले खरिद गरेको चामल जनतालाई दिन नपाउँदै कुहिएको हो । गत वर्ष कोरोना महामारीका समयमा भएको लकडाउनका समयमा जनता भोकै पर्दा नबाँडी राखेको चामल कोदाममै कुहिएको हो । पानी चुहिने भवनमा स्टोर गरेर राख्दा ठूलो परिणामको चामल कामै नलाग्ने भएको छ । नगरपालिकाको बेवास्ताका कारण पाँच हजार केजी चामल नष्ट भएको छ । उक्त चामल नगरपालिकाले ३८ रुपैयाँ प्रतिकेजीका दरले खरिद गरेको थियो । नष्ट भएको चामलको मूल्य एक लाख ९० हजार पर्न जान्छ ।

चामलसँगै १५ बोरा भुजा पनि छ । त्यो भुजा पनि काम नलाग्ने अवस्थामा पुगेको छ । नगरपालिकाले गत वर्ष वडानम्बर–१ स्थित पुरानो सरकारी सहकारी भवनमा यो चामल स्टोर गरेर राखेको थियो । भवन जीर्ण भएको थियो । त्यही कारण चामल कुहिएको उपप्रमुख गीता भेटवालले जानकारी दिइन् । तर, कति परिणाममा चामल कुहिएको छ भन्ने जानकारी जनप्रतिनिधिलाई समेत छैन । ‘व्यवस्थापन भइसक्यो । काम नलाग्ने चामल फालिसक्यो भन्ने जानकारी आएको थियो,’ भेटवालले भनिन्, ‘तर, त्यत्रो पाँच हजार केजी त हैन होला रु ताततातै प्याकिङ गरेर चामल ल्याइयो । पछि पानीले भिज्यो । अनि चामल बिग्रिएको हो ।’

बिग्रिएको चामल राख्न पनि नगरपालिकाले भाडाको सटर लिएको छ । यसअघिको भवनमा विगतदेखि नै ब्याडमिन्टन खेल्ने गरेका थिए । चामल राखेका कारण खेल्न नपाइएकाले स्थानीयको आग्रहमा त्यहाँबाट चामल हटाएर भाडाको घरमा कुहिएको चामल राखिएको छ । कामै नलाग्ने चामल राखेबापत नगरपालिकाले उक्त सटरको दुई हजार तिर्नुपर्छ । जनतालाई राहत दिन खरिद गरिएको चामल जनतालाई भोकै बनाएर गोदाममा थन्काइएको थियो ।

आवश्यकताभन्दा बढी चामल खरिद गरेर लाखौँ रकम नस्ट पार्ने जनप्रतिनिधि भने कुहिएको चामलका बारेमा बेखबर छन् । एक लाख ९० हजारको चामल कुहिएर नस्ट हुँदा पनि नगर प्रमुख रोहितकुमार साह आफूलाई जानकारी नभएको बताए । ‘मलाई अहिलेसम्म प्रतिवेदन पेस गरेको छैन । मलाई स्टोरबाट जानकारी आएको छैन । बिहान म अफिस जाँदा पनि जानकारी पाइन,’ उनले भने, ‘मैले चामल बिग्रेको देखेकै छैन । बोरा उठाउँदा दुई/चार केजी झरेर बिग्रिएको होला । अरू मलाई चाहिँ जानकारी छैन ।’


प्रतिक्रिया दिनुहोस !