११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

नेपालकै ठूलो स्याउ बगैँचा जुम्लामा, ३० हजार स्याउका बिरुवा एकै पटक रोप्ने अभियान सुरु



जुम्ला- जुम्लामा नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा स्थापना गरिएको छ । बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकै पटक रोप्ने अभियान सुरु गरिएको छ । गुठीचौर गाउँपालिका–५, काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको हो । गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा स्थापना गर्नुभएको हो । झन्डै आठ करोड रुपियाँ लगानी रहेकामा पाँच करोड बैङ्कको र तीन करोड फार्मको रहेको छ ।

बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी आउनुभएको थियो ।

सचिव मिश्रले निषेधाज्ञामा बगैँचामा नआउनुपर्ने भए पनि अस्पतालमा डाक्टरले बिरामीलाई छोड्न नसकेजस्तै कृषि सचिवले किसान छोड्न नहुने भएर आएको बताउनुभयो । उहाँले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन, बजारीकरण, कृषि सडकलगायतका प्राविधिक सहयोग गर्नसक्ने बताउनुभयो ।

बगैँचाका लागि २५ हजार बिरुवाको व्यवस्थापन किसान आफैँले र बाँकी पाँच हजार ५० प्रतिशत अनुदानमा सरकारले सहयोग गरेको छ । स्याउ सुपरजोन कार्यालयले पाँच हजार स्याउ बिरुवा ५० प्रतिशत अनुदानमा सहयोग गरेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को वर्ष २० हजार रोप्ने योजना छ ।

गत वर्षको चैतदेखि नै बगैँचा स्थापनाको तयारी थालिएको थियो । बन्दाबन्दी अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका क्रियाकलाप भए पनि रोप्न पाइएको थिएन ।

३० वर्षका लागि ८६ जना किसानबाट लिजमा दिएको एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भएको छ । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका छन् । एक जना आयोजना प्रमुख, लेखापाल दुई जना, ओभरसियर एक जना, स्टोर किपर दुई जना, हेल्पर १२ जना, जेटीए चार जना र चौकीदार चार जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन जना सहचालकले पनि रोजगारी पाएका छन् ।

गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीयवासी खुसी भएका छन् । उनीहरूले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताएका छन् ।

लगानीकर्ता मीनबहादुर भण्डारीले जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको बताउनुभयो ।

बृहत् बगैँचा अवधारणा

तातोपानी गाउँपालिकाको हियाँखोलामा पनि छ हजार स्याउ बिरुवा रोपिएको स्थानमा घेरबार र सिँचाइ सुरु गरिएको स्याउ सुपरजोन कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

त्यस बगैँचामा पनि प्रदेश कृषि सचिव मिश्रले पुगेर लिफ्ट सिँचाइको सम्भावनाका विषयमा समेत अनुगमन गरेको जानकारी दिनुभयो । जुम्लामा यस वर्ष भण्डारीको बगैँचामा ३० हजार र अन्यत्र ३० हजार गरी ६० हजार फुजी स्याउ बिरुवा रोपिने बताइएको छ ।

जुम्लामा करिब २५ वर्षअघि किसान पदमबहादुर महतले जुम्ला महतगाउँको नाङ्गो डाँडामा चार हजार स्याउका बिरुवा लगाएपछि एकै पटक धेरै स्याउ उत्पादन भएको थियो ।

अहिले जुम्लामा जिल्लाभर एक सयभन्दा बढी ३० हजारसम्म स्याउका बिरुवा रोप्ने र बगैँचा लगाउने होडबाजी नै हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !