काठमाडौं : यति बेला देश कोरोना महामारीले आक्रन्त छ । देशैभरी करिब करिब निषेधाज्ञा जारी गरिएको छ तर यही मौकामा काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जाने यातायातहरुले भने निर्बाध रुपमा यात्रुलाई रातारात ओसारी रहेका छन् । विदेशबाट फर्किएका यात्रुसँग धेरै यातायात व्यवासायीहरुले समान्य टिकट भन्दा तीन गुणा चारगुणा बढी भाडा उठाएर यात्रुहरुलाई रातीको समय पठाउने गरिएको छ । सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको छ तर यातायात व्यवसायी भने यही मौकाको उपयोग गर्दै तेब्बर भाडा असुलेर काठमाडौंबाट देशका मुख्य सहरहरुमा यात्रु पठाई रहेका छन् । तर सरकार भने मुख दर्शक बनिरहेको छ । काठमाडौंको नयाँ बसपार्कबाट बुटवलको भाडा ५ हजार देखि ७ हजार, पोखरा ७ हजार देखि ८ हजार त्यसै गरी काठमाडौंबाट बाग्लुङ ४५ सयदेखि ५ हजार, दाङ, सुर्खेत, धनगढी र नेपालगन्जको ७ हजार असुलेर यातायात व्यवसायीहरुले यात्रु ओसार प्रसार गरिरहेका छन् ।
बाहिर हेर्दा निषेधाज्ञा तर चर्को भाडा तिरेमा बसहरुले यात्रुहरुलाई सहजै गन्तब्यसम्म पुर्याई दिने गरेका छन् । केही दिन अघि भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको थियो तर त्यो क्रम अहिले पनि राकिएको छैन । निषेधाज्ञाको उल्लंघन गरेर गृहमन्त्रालयलाई पंगु बनाउँदै यातायात व्यवसायीहरुले यात्रु ओसार पसार गरिरहेका छन् । त्यस्तै बाहिरबाट उपत्यका छिर्नका लागि बसहरुले दिउँसो भरी धादिङको झ्याप्ले खोलामा रोकिने र साँझ परेपछि नाका पास हुने खुराफाती तरिका अपनाउने गरेका छन् । यसरी पीसीआर परिक्षण नै नगरी उपत्यकाबाट घर फर्किने र उपत्यका भित्रिने यात्रुहरुको कारण कोरोना संक्रमणको खतरा झनै बढ्ने देखिएको छ ।