१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

४ बजेपछि अक्सिजन दिन सक्दैनौं : युनिभर्सल शिक्षण अस्पताल, भैरहवा



भैरहवा । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ । अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार दिउँसो जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताए ।

ढकालका अनुसार अस्पतालमा कोभिड-१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन् । माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।

१० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ‘माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको थियो’ ढकालले भने । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ ।

अक्सिजन अभावमा अस्पतालले नयां विरामी भर्ना गर्न सक्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।

हेर्नुहोस् विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय