८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा कर्णाली प्रदेश सबैभन्दा कमजोर, बागमती प्रदेश अग्रस्थानमा



सूचना प्रविधि तथा सञ्चारको क्षेत्रमा कर्णाली प्रदेश सबैभन्दा पिछडिएको देखिएको छ जहाँ वृद्धिदर तथा योगदान सबैभन्दा कम रहने अनुमान गरिएको छ । हालै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रादेशिक कुल ग्राहस्र्थ उत्पादन सम्बन्धि तथ्यांकअनुसार सूचना प्रविधि तथा सञ्चारको सबै सूचकमा कर्णाली प्रदेश पछाडि रहेको देखिएको छ ।

विभागले आज कुल ग्राहर्स्थ्य उत्पादन, वार्षिक मूल्य अभिवृद्धिलगायतका विषयहरु समेटेर प्रादेशिक तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार सूचना प्रविधि तथा सञ्चार क्षेत्रका सबै सूचकहरुमा कर्णाली प्रदेश पछिल्लो स्थानमा रहेको छ । कर्णाली प्रदेश सूदूरपश्चि प्रदेशभन्दा पनि पछाडि रहेको तथ्यांकमा देखिएको छ ।

तथ्यांकअनुसार सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा बागमती प्रदेश अग्रस्थानमा रहेको देखिन्छ भने त्यसपछि प्रदेश नम्बर २ र प्रदेश नम्बर १ क्रमशःरहेका छन् । त्यसपछि भने लुम्बिनी प्रदेशको स्थान देखिन्छ। लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ मा सूचना प्रविधि र सञ्चार उद्योगको गतिबिधिमा झिनो अन्तर रहेको छ । यसपछि भने गण्डकी, सूदूरपश्चिम र अन्तिममा कर्णालीप्रदेश रहेको देखिन्छ ।

विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७।७८ मा सूचना प्रविधि तथा सञ्चार क्षेत्रले बागमती प्रदेशमा २५ अर्ब ३० करोडको मूल्य वृद्धि गर्ने अनुमान गरिएको छ ।

त्यसैगरि प्रदेश नम्बर २ मा १३ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको मूल्य वृद्धि गर्ने प्रक्षेपण गरिएको छ ।

प्रदेश नम्बर १ मा १२ अर्ब ३९ करोड २० लाख रुपैयाँ बराबरको वार्षिक मूल्य वृद्धि गर्ने अनुमान छ । लुम्बिनी प्रदेशमा सूचना प्रविधि तथा सञ्चार उद्योगले १२ अर्ब ७१ करोड ७० लाख रुपैयाँ बराबरको वार्षिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रको वृद्धिदर २ अर्ब ३० करोड ४० लाख रहने अनुमान छ भने सूदूरपश्चिम प्रदेशमा यस्तो वृद्धिदर ४ अर्ब ३६ करोड रुपैयाँ बराबर हुने विभागको प्रक्षेपण रहेको छ ।

कुल ग्राहस्र्थ उत्पादन

कुल ग्राहस्र्थ उत्पादनको आधारमा हेर्दा पनि कर्णाली प्रदेशको दर सबैभन्दा कमजोर रहेको छ । जहाँ चालु आवमा सबैभन्दा कम दर रहेको छ । कर्णाली प्रदेशमा वार्षिक कुल ग्राहस्र्थ उत्पादन दर २.८ प्रतिशत मात्र रहेको छ । त्यसैगरि सूदूरपश्चिम प्रदेशमा यस्तो दर ५.७ प्रतिशत रहेको छ ।

सूचना प्रविधि तथा सञ्चारको योगदान सबैभन्दा धेरै बागमती प्रदेशमा देखिएको छ। जहाँ यस्तो दर ३१.२ प्रतिशत रहेको छ भने प्रदेश नम्बर २ मा १७.२ प्रतिशत छ । प्रदेश नम्बर १ मा कुल ग्राहस्र्थ उत्पादन दर १६.७ प्रतिशत रहेको छ ।

त्यसैगरि लुम्बिनी प्रदेशमा १५.७ प्रतिशत तथा गण्डकी प्रदेशमा १०.९ प्रतिशत रहेकोछ ।


प्रतिक्रिया दिनुहोस !