१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

इजरायलको हमलामा १३९ प्यालेस्टाईनीको मृत्यु, जवाफमा रकेट बर्षाउँदै विद्रोही हमास



इजेन्सी : इजरायल र प्यालेस्टाइनबीच सोमबार रातिदेखि युद्धमा १३९ जना प्यालेस्टाईनीको मृत्यु भएको छ । पछिल्लो संघर्ष सुरु भएयता गाजामा १३९ र इजरायलमा ८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ मृत्यु हुनेमा ३२ बालबालिका र २१ महिला पनि रहेका छन् । त्यस्तै करिब एक हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार हिंसात्मक संघर्षका कारण अहिलेसम्म गाजाबाट १० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ हिँडिसकेका छन् । शनिबार बिहान पनि इजरायली सेनाले गाजामा ठूलो हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा हमासले इजरायलतर्फ रकेट हानिरहेको छ । गाजा र इजरायलमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवाती पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो । हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ । त्यस्तै जारी संघर्ष चर्किंदै गइरहेका बेला अमेरिकी दूत तेलअभिभ ओर्लिएका छन् । दुवै तर्फबाट आक्रमणलाई बढाउँदै लगिरहेका बेला अमेरिकी दूत आइपुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । इजरायल–प्यालेस्टाइन मामिलाका उप सहायक सचिव हाडी अमर शुक्रबार तेलअभिभ आइपुगेका हुन् । उनले इजरायलका विदेशमन्त्री, रक्षामन्त्री र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि भेट्न सक्ने बताइएको छ । इजरायली उच्च स्रोतका अनुसार बाइडेन प्रशासनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आइतबारको बैठकअघि नै युद्धविरामका लागि दुवै पक्षलाई सहमत गराउने पहल जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस !