१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एमालेकी सांसद चौधरीले चिनियाँ अक्सिजनको सिलिण्डर लुकाएको आरोप



काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ । एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’ अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा यो सिलिण्डर कसको हो ? यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याएको रहेछ,’ अलि झर्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन ? ’

भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नुस् र यसलाई जफत गर्नुस् ।’

करिब एक मिनेटको भिडियोमा सुनिएको आवाज हो यो । यो भिडियो सार्वजनिक भएसँगै आक्रोशपूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । अक्सिजन सिलिण्डर घरमा भेटिएको घटनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘जनताको लागि राज्यले दिएको सम्पत्ति लुटें । अयो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’

उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलिण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !