१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ढँटुवा को ? सरकार की व्यवसायी ? चीनबाट ल्याईएका सिलिण्डरमा आ-आफ्नै दाबी



काठमाडौं । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डर सरकारका अधिकारीहरुले अनुदानमा दिएको बताइरहेको बेला व्यवसायीले भने ती सिलिण्डिर आफूहरुले ल्याएको दावी गरेका छन् । चीनको स्थलमार्गबाट ल्याइएको १८ हजार सिलिण्डर तातोपानी आइसकेको र उक्त सिलिण्डर सरकारले ल्याउन लागेको उपप्रधानमन्त्री इश्वर पोखरेलका सल्लाहकार गणेश पाण्डेले सूचना दिएपछि व्यवसायीहरुले खासासम्म आएको सिलिण्डर निजी क्षेत्रको भएको जानकारी दिएका हुन् ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक खासामा आइसकेको ७५ सय थान सिलिण्डिर व्यवसायीहरुले किनेर ल्याएको जानकारी दिँदै त्यसैलाई अनुदानमा दिएको प्रचार उपयुक्त नभएको बताए । शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर बताएको शेर्पाको भनाइ छ ।

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताए । पाण्डेका अनुसार अहिले ल्याइरहेको सिलिण्डर भने चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको सिलिण्डर नै हो ।

तातोपानी भन्सार कार्यालयका अधिकारीले पनि खासा आइपुगेको अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएका छन् ।ददैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालमा अक्सिजनको हाहाकार भएपछि तातोपानी भन्सार कार्यालयले छिटो आइपुग्ने गरी सिलिण्डर उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो । सोही अनुसार व्यवसायीले सिलिण्डर ल्याएको भन्सार कार्यालयका ती अधिकारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय