१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आज २८ औं मदन–आश्रित स्मृति दिवस, छानबिनका बिषयमा मौन ओली



काठमाडौं : आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस । जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता कार्यकर्ताले स्मरण गर्दैछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् तर आश्चर्य त के छ भने २८ वर्षअघिको रहस्य जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन सकेको छैन । तिनै मदनको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक पटक ठुलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ ।

त्यति मात्रै होइन मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । मदन स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मदनको योगदानको स्मरण गरेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली दासढुंगा प्रकरणबारे मौन देखिएका छन् भने बरिष्ठ नेता नेपालले उक्त घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । ‘जननेता कमरेड मदन भण्डारी कमरेड जीराजआश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष वितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन’, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनले ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु’ भनेर माग गरेका छन् । एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय