११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

५१ लाखको अक्सिजन प्लान्टको बजेटमा ३ लाख पर्ने अक्सिजन कन्सन्ट्रेटर खरिद



सुर्खेत । कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको हो । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो । तर उसले अक्सिजन प्लान्ट ल्याउने सम्झौता विपरीत आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए ।

निर्देशनालय र अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि आवश्यक सूचना गरेपनि आयातकर्ता ठेकेदारले अर्कै सामग्री पठाएको र त्यो माग अनुसारको सामग्री नभएकाले त्यसलाई नराखिने निमित्त निर्देशक खड्काले बताए । उक्त मेसिन १२ दिन अगाडि अस्पतालमा ल्याइए पनि शनिबार मात्रै जडान गरिएको थियो । उता, आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीले भने अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको बताए । ‘यसले पनि अक्सिजन प्लान्ट र कन्सर्नट्रेटरको जस्तै काम गर्छ, योबाट प्रति मिनेट ४० लिटर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘निर्देशनालय र अस्पतालले निकालेको सूचनाकै आधारमा मेसिन खरिद गरिएको हो ।’ शाहीका अनुसार उक्त मेसिन राजस्व बिना ३५ लाखमा खरिद गरेको हो ।

अक्सिजनको अभावका कारण कैयौं बिरामीहरुले ज्यान गुमाउनु परेको छ । तर यो खरिद प्रक्रियामा कमिसनको खेल रहेकोले यो विवादमा आएको स्थानीयले आरोप लगाएका छन् । खरिद प्रक्रिया विवादमा आएसँगै छानविनको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति नै गठन भएको छ । अनियमितताबारे छानबिनको लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो । अलिबाबाको अनलाइन सपमा २ लाख ४६ हजारदेखि २ लाख ८१ हजारसम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई स्वास्थ्य कार्यालय सल्यानले ५१ लाखमा खरिद गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी समेत आएको प्रजिअ हुमागाईंको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !