८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि, सतर्क रहन अपिल



काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !