१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारत र चीनबाहेक अरुले खोपको सहायता गरेनन्, खरिद गर्ने प्रस्तावको जवाफ नै दिएनन्



काठमाडौं : नेपाललाई कोरोनाभाइरसको पछिल्लो घातक लहरसँग जुझ्न विभिन्न देशहरूले स्वास्थ्य सामग्री सहयोग गरे पनि त्यसमा खोप नसमेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार नेपालले भारत र चीनबाट मात्र अनुदानमा खोप पाएको छ। नेपाललाई आवश्यक रहेको स्वास्थ्य सामग्री सूचीमा खोप रहेको तर सहायताको रूपमा अहिलेसम्म कसैले खोप दिन चाहेका छैनन् सचिव लक्ष्मण अर्यालले भने ।

सहायता आउने सम्भावना नदेखिएकै कारण सरकारको जोड यतिखेर सहायताभन्दा खोप खरिदमा रहेको बताइएको छ । भारतले अनुदानमा कोभिशील्ड खोप नेपाली सेनालाई एक लाख र अरु १० लाख गरी ११ लाख र चीनले आठ लाख भेरोसेल उपलब्ध गराएको थियो। नेपालले किनेको १० लाख मात्रा खोप भारतमा ल्याएको थियो भने थप तीन लाख ८० हजार अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत आएको थियो। स्वास्थ्य सचिव अर्यालले भारतबाट कोभिशील्ड र कोभ्याक्सिन, चीनको भेरोसेल, रुसी स्पुत्निक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र यूकेको एस्ट्राजेनेका खोप किन्न उत्पादक कम्पनीहरूलाई अनुरोध गरेको बताए। अहिलेसम्म कतैबाट जवाफ आएको छैन। हामीले किन्न पाउँदा किन्ने र अनुदान पाउँदा त्यसलाई स्विकार्ने दुवै पक्षमा छौँ अर्यालले भने । यतिखेर विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भारतले खोपको निर्यात रोकेको छ। भारतकै कारण कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालका लागि छुट्टाइएको १९ लाख २० हजार मात्र खोपको बाँकी आपूर्ति समेत अनिश्चित बनेको बताइएको छ।

चीनले ३,५०० अक्सिजन सिलिन्डर, १० भेन्टिलेटर, ४० पोर्टेबल भेन्टिलेटर, २० स्वचालित एनलाइजर, १० डीआर मेसिन, २० पोर्टेबल अल्ट्रासाउन्ड र ३० वटा एनेस्थेसिया मेसिन, चीनकै सिचुआन प्रान्त सरकारले चाटर्ड उडानमार्फत ३,००,००० मास्क, १,६२,८८० एन ९५ मास्क, १०,००० पीपीई, ५५० विभिन्न खाले थर्मामिटर उपलब्ध गराइएको छ। तिब्बत स्वायत्त क्षेत्र सरकारको सहयोगमा ३०,००० लिटर लिक्विड अक्सिजन उपलब्ध गराएको छ। तिब्बत सरकारले २०० आईसीयू शय्या, पाँच भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, ८०० अक्सिजन भरिएका ग्यास सिलिन्डर र १५,००० एन्टिजन परीक्षण किट उपलब्ध गराउने घोषणा गरेको छ। चीनको रेडक्रस सोसाइटीले ९० अक्सिजन कन्सन्ट्रेटर, २,००० कभरलर र ७००,००० सर्जिकल मास्क उपलब्ध गराउने भएको छ। अमेरिकाको सर्जिकल मास्क, फेसशील्ड र पन्जाहरू बोकेको पहिलो चाटर्ड फ्लाइट शनिवार नेपाल आइपुगेको छ। तत्काल थप तीन चाटर्ड फ्लाइटमा स्वास्थ्य सामग्री आइपुग्ने बताइएको छ। यसै महिनामात्र नेपालमा परीक्षण, सङ्क्रमित पहिचान, उपचार र निदानका सरकारी क्षमता वृद्धिका लागि एक करोड ५० लाख अमेरिकी डलर सहायता गराइएको छ।

स्विट्जरल्यान्डले ४० अक्सिजन भेन्टिलेटर, ११,००,००० एन्टिजन परीक्षण किट, १० अक्सिजन कन्सन्ट्रेटर, १,००० नसल कनल्ज, मास्क, पन्जा र सुरक्षित रहने लुगाहरू सहितका ३० टन स्वास्थ्य सामग्री पठाएको छ । त्यस्तै बेलायतले नेपाल प्रहरी अस्पतालमा दैनिक १६० अक्सिजन सिलिन्डर उत्पादन क्षमताको प्लान्ट निर्माणमा सहयोग गर्ने भएको छ । फिनल्याण्ड २२,००,००० सर्जिकल फेस मास्क, ३,५०,००० एफएफपीटू मास्क, ५२,५०० जोर पन्जा र ३०,००० आइसोलेशन गाउनसहयोग गरेको छ । स्पेनले १,२४,८०० एन्टिजन किट, १० अक्सिजन कन्सन्ट्रेटर, १,४४,००० एफएफपीटू मास्क, ५० अक्सिजन सिलिन्डर र १५ भेन्टिलेटर सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !